नेपालको संघीय योजना आयोगको नयाँ मोडलः माथिबाट तल, तलबाट माथि
देश अब विकास र समृद्धिको यात्रामा उन्मूख छ । नेपालको संविधानअनुसार तीन तहको सरकारसहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई निर्वाचनमार्फत अनुमोदन गरी संस्थागत गर्ने प्रक्रियामा रहेको छ । तीनै तहका सरकारहरु आफूले सोचेअनुरुपका विकास र समृद्धिको नारालाई सार्थकता प्रदान गर्ने क्रममा लागेको देखिन्छ । सबै निकायमा तहका क्रियाकलाप नियाल्दा सबैमा गतिशीलता देखिन्छ । तर, स्पष्ट गन्तव्य तय गर्न नसकको हो कि ? गन्तव्यलाई पहिचान गरे पनि त्यसमा पुग्ने मार्ग पहिचान गर्न नसकेको हो कि जस्तो भान हुन्छ । गन्तव्य र मार्ग पहिचानका लागि अब प्रत्येक संघीय तहले योजनावद्ध विकासलाई अगाडि बढाउनुको विकल्प रहँदैन । यसका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन विकासका योजना निर्माण गरी अगाडि बढ्नुपर्ने हुन्छ । विकास निमार्णलाई संघीय व्यवस्थाअनुरुप अगाडि बढाउन निश्चित संरचनाको व्यवस्था र सो संरचनाका क्रियाकलापहरु स्पष्ट हुन जरुरी छ । एकात्मक शासन व्यवस्थामा योजनासम्वन्धी सम्पूर्ण कार्यहरु राष्ट्रिय योजना आयोग (रायोआ) मार्फत सम्पादन गरिँदै आएकोमा अब यो निकायमात्रै सक्षम र पर्याप्त नहुने देखिन्छ । यसर...