अर्थतन्त्र के हो ? आर्थिक वृद्धि कसरी ?
पृष्टभूमि नेपालको आर्थिक बृद्धिदर विगत दुई वर्षमा औसत ६ प्रतिशतभन्दा माथि रहृयो । आर्थिक वृद्धिले प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई पक्षलाई समेट्छ । आर्थिक वृद्धि हुँदा देशमा उत्पादन बढेको , रोजगारीका अवसरहरु फराकिलो हुँदै गएको , व्यक्तिको क्रयशक्ति वढेको जस्ता विषयहरु प्रत्यक्षतर्फ रहन्छन् । अप्रत्यक्षको पाटोमा चाहिँ देशभित्र आर्थिक रुपमा नै सक्रिय व्यक्ति , व्यावसायिक समूह/वर्ग (स्वदेशी , विदेशी) मा भविश्यप्रति सकारात्मक अपेक्षाको सञ्चार हुन्छ । यसको कारण अर्थतन्त्र पुनः चक्रीय आर्थिक वृद्धिको क्षेत्रभित्र प्रवेश गर्दछ । देशले जति धेरै आर्थिक वृद्धि हासिल गर्यो , त्यसले प्रत्यक्ष र अप्रत्यक्ष दुवै पक्षलाई वृहत बनाउँछ । परिणामस्वरुप बेरोजगारीको समस्या समाधान हुने , स्रोत र साधनको उच्चतम प्रयोग हुने , निर्यात गर्न सक्ने क्षमताको वृद्धि हुने , वैदेशिक मुद्राको आर्जन बढ्न सक्ने , सोधान्तर अवस्था सकारात्मक हुने जस्ता सूचकहरु देखिन्छन् । यसर्थ कुनै पनि अर्थतन्त्रमा आर्थिक वृद्धि सधैँ अपेक्षित रहन्छ । आर्थिक वृद्धिको यत्ति धेरै सकारात्मक आयाम हुँदाहुँदै पनि कुनै पनि देशले चाहेजस्तो वृ...